मौसमविद् रोजन लामिछानेले उपत्यकामा प्रदूषणको मात्रा अत्यधिक बढेकाले वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ । उनले लामो समयदेखि वर्षा नहुनु, देशका विभिन्न भागको डढेलो, सवारीसाधनलगायतले उत्पन्न गरेको धुलोधुवाँ उपत्यकामा प्रवेश गरेर अड्किएर बस्नुले प्रदूषणको मात्रा बढेको जानकारी दिए ।
‘यहाँ प्रदूषण अड्किएर बसिरहेको अवस्था छ । त्यसलाई हटाउन कि प्रशस्त पानी पर्नुपर्छ, कि ठुलो हावा लागेर उडाएर लैजानुपर्छ,’ उनले भने, ‘हालसम्म यहाँ न पर्याप्त पानी परेको छ, न ठुलो गतिको हावा नै लागेको छ ।’
यस्तै विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्यान्डकाे एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं अहिलेको विश्वकै बढी प्रदूषित सहरको पहिलो नम्बरमा पनि छ । जसले यहाँको वातावरण अति जोखिमपूर्ण तहमा छ ।
यहाँको एक्यूआई विन्दु १७९ सम्म पुगेको छ । दोस्रो स्थानमा भारतको कोलकाता १७३ एक्युआईसहित दोस्रो र पाकिस्तानको लाहोर १६६ एक्युआईसहित तेस्रो स्थानमा छ ।
यस्तै पछिल्ला दिनमा मौसम पनि थोरै सक्रिय भएर बसेकाले आकाश खुल्न नसकेको मौसमविद् लामिछानेले बताए । उनले भने, ‘तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली सक्रिय हुँदा नेपालको कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पानी पर्ने जस्तो छ । माथिल्लो उच्च तापीय प्रणालीको आंशिक प्रभाव छ । जसले बादल बनेर बसेको छ ।’
तर, मौसम अपेक्षाकृत सक्रिय नभएकाले बादल मात्रै जम्मा भएर बसेकाले उपत्यकाको आकाश धुम्म भएर बसेको उनी बताउँछन् ।
मौसम खुल्न पनि पानी पर्नुपर्ने अथवा ठुलो हावा नै चल्नुपर्ने लामिछानेले बताए । ‘काठमाडौं उपत्यमा यसअघि अहिलेको समयमा चल्नुपर्ने जति हावा पनि चलिरहेको छैन,’ उनले भने ।




बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।