सहिद गाथा

स्मृतिमा चैत्र २५, भाई विजयको हत्या

प्रकाश चौधरी       १ हप्ता अगाडी प्रकाशित     14 No Comments

अनेक प्रश्नहरु संगै मनमा पीडा र आक्रोशहरु ताजै छन्

📋 सारांश
  • आज चैत्र महिनाको २५ गते मेरो भाई विजयको हत्या गरेको दिन।
  • घटना अहिलेको होइन २०६१ सालको हो।
  • जतिबेला नेपालमा शाही सत्ता थियो।

आज चैत्र महिनाको २५ गते मेरो भाई विजयको हत्या गरेको दिन । घटना अहिलेको होइन २०६१ सालको हो । जतिबेला नेपालमा शाही सत्ता थियो । अहिलेको जस्तो लोकतान्त्रिक व्यवस्था थिएन । एकतन्त्रिय सामन्ती राजतन्त्रात्मक व्यवस्था थियो । त्यही शाही सत्ताका शासक वर्गले आफ्नो शाही तख्ता बचाउन कम्मर कसेर लागेको थियो भने अर्कोतिर राज्यको शाही तख्ता पल्टाउन नेपालमा जनताको जनयुद्ध संचालनमा थियो । आफ्नो सत्ता जोगाउन वा आफ्नो लुटको स्वर्ग बचाउन देशी विदेशी शक्तिहरु केन्द्रित गरी सशस्त्र जनयुद्ध दबाउन तत्कालिन सरकार अन्तिम बल प्रयोग गर्ने अभियानमा थियो । हो, त्यही समयमा चैत्र २५ गतेको दिन दाङको सदरमुकाम घोराहीवाट गएको तत्कालिन शाही सेनाले नजिकैको गाउँ ओखरामा गएर घर घेराहाली माओवादीको नाममा आफ्नो कब्जामा लिई शारिरीक, मानसिक लगायतका चरम यातना दिएर मणनासन्न अवस्थामा सोही गाउँका दाजु अर्जुन चौधरी (राहुल) इन्द्र बहादुर चौधरी (श्याम) र विजय चौधरी गरी ३ जनाको ड्याम ड्याम गोली बर्षाएर सामुहिक रुपमा हत्या गरेको थियो ।त्यही हत्याको खवर मैले साँझ पौनो ९ बजेको बिबिसीमा सुनेको थिए । ३ जना माओवादी आतंककारीको दोहोरो भिडन्तमा मृत्यु भएको भन्ने खबरले म स्तब्ध भए । एक छिन त पत्याउन गाह्रो भयो । तर वास्तविकता नै रहेको रहेछ । शरिर जिरिङग भयो । थर्र काँपी रहेको थियो । जीउ लल्याक लुलुक भयो । तै पनि मन सम्हाल्न पुगे । त्यो संकटकालिन अवस्था जति बेला मृत्यु पर्खेर बस्नु पर्ने समय थियो । म भुमिगत भएकोले जतिबेला पनि मलाई गोलि हान्न सक्ने अवस्था थियो । घर जान सक्ने अवस्था पनि थिएन ।

नेपालमा चलेको १० बर्षे लामो सशस्त्र जनयुद्ध लडाईको उत्कर्षतिर लागि रहेको थियो । त्यत्ति मात्रै होइन सशस्त्र जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा थियो । मोर्चाबद्ध लडाईको थालनि भैसकेको थियो । ठुलाठुला सैन्य ब्यारेक कब्जा गर्ने जस्ता सदरमुकाम केन्द्रित लडाईमा माओवादी जनयुद्ध अभ्यस्त भैसकेको थियो । त्यही लडाईको शिलशिलामा दोस्रो रुकुम खारा आक्रमणको भिषण तयारी चल्दै थियो । हो त्यही समय त्यही परिवेशमा युद्धको मोर्चामा सामेल हुने योजना अनुसार अगाडि बढ्दै गर्दा रोल्पाको आधा बाटो पुगेका हामीहरुलाई हेडक्वाटरको निर्देशन बमोजिम पुन ः दाङ फकाईयो । दाङमा आफ्ना गतिविधिहरु अगाडि बढाउन हामी रोल्पावाट फर्केका थियौ । फर्केको दिन नै चैत्र २५ गतेको दिन गाउँमा सेल्टर लिईरहेको अवस्थामा कब्जामा लिई निर्ममतापूर्वक यातना दिएर हत्या गरियो ।

त्यही हत्या प्रकरणले हाम्रो परिवार लगायत सिङ्गो समाजमा कालो धब्बा लाग्यो । ओखरागाउँ शाकमग्न भयो । ती तीनै जनाको सामुहिक हत्याले त्यो लालबस्ती उजाड बन्यो । भाई विजयको हत्याले हाम्रो परिवार विक्षिप्त बन्यो । आमा बेहोसी अवस्थावाट उठ्न निकै समय लाग्यो । बुवा गाउँको भद्रभलाद्मीको सल्लाह अनुसार शोकाकुल मन संगै सदरमुकामको तत्कालिन महेन्द्र अस्पताल हालको (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा शाही सेनाले पोष्टमार्टमको लागि प्रहरीको जिम्मा लगाई छाडेको रहेछ । प्रहरीको जिम्मा लगाएको उक्त लाश बुझेर भक्कानो छाड्दै बुवा घर जानुभएछ । गाउँको सल्लाह बमोजिम धार्मिक संस्कार अनुसार गाउँको दाजु अर्जुन र भाई विजयलाई नजिकैको ओखरा गाउँको नर्सरीमा अन्तिम विदाई दिने काम भएछ । म भने दुश्मनको नजरमा परेकोले र सुराकीको ध्यान म मा केन्द्रित भएकाले भाईलाई अन्तिम विदाई समेत गर्न पाएन ।

आज भाईको हत्या गरेको पनि पुरै २१ बर्ष पुगेको छ । त्यो क्षण सम्झना हिजोका दिनमा कस्ता–कस्ता क्षणहरु झेलेर, खेलेर आइयो । आज ती अतितहरुले झकझकाई रहेका छन् । ती अतितका क्षणहरुले सम्झाइ रहनु, विजाई रहनु, घोची रहनु, पोलिरहनु, दुखी रहनु, तड्पाई रहनु, याद आइरहनु, सपना देखिरहनु सबैभन्दा गुन भने नि बैगुन भने नि वर्तमानलाई सजिलो संग सास फेर्न नदिई रहनु रहेछ । शान्तिको स्वास फेर्नको लागि राज्यले न्याय दिनुपर्छ । राज्य संचालन गर्ने जिम्मा लिएका नेतृत्वले विस्तृत शान्ति सम्झौताको मर्म अनुसार न्याय दिनको लागि आयोग गठन र विघटनको प्रक्रियाले परिवारमा न्यायको आशा मरिहरेको छ । भाईको आज २१ औं स्मृति दिवस पनि हो । उसको आत्माले कहिले शान्ति पायो होला ? या पाएन होला ? उसको आत्माले कहिले न्याय पाउँला ? अनेक प्रश्नहरु संगै मनमा पीडा र आक्रोशहरु ताजै छन् ।
भाई विजय तिम्रो हत्या भएको २१ बर्ष पुगि सक्यो तर राज्यले तिम्रा लागि अन्तरिम राहत र सहिद घोषणा बाहेक अरु न्यायका कुरा, दोषीलाई कार्वाहीको कुरा अहिले सम्म पनि अगाडी बढाएको छैन । परिपुरणको नीति मात्रै अगाडि सारेको छ । तर केही गरेको भने छैन । तिम्रो वलिदानले आज देशमा संघिय लोकतान्त्रिक गणतन्त्र त स्थापना भएको छ । यसमा पनि ठुलो बहस सिर्जना भएको छ । त्यो बहस सफल होला या असफल त्यतातिर नगएर लोकतन्त्र प्राप्तीको लडाईमा सहादत प्राप्त गर्ने सबैले न्याय पाउनुपर्छ । लडाईको मोर्चामा वलिदान गर्ने मेरो भाई दाजुहरु, दिदिबहिनीहरु लगायत दाङ जिल्ला वाट आफ्नो अमुल्य जिवन वलिदान गर्ने ३ सय ४० जना सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र जनयुद्धको क्रममा वेपत्ता भएका हाल सम्म वेपत्ताको सुचिमा रहनुहुने १ सय २६ जना नागरिकहरुप्रति उच्च सम्मान संगै युद्धको क्रममा घाइते अपाङ्ग प्रति स्वास्थ्य लाभको कामना गर्दछु ।

सन्दर्भ , जनयुद्धका महान सहिदहरु अर्जुन चौधरी, इन्द्र वहादुर चौधरी र विजय चौधरीको २१ औंँ स्मृति दिवसको अवसरमा ।

सम्वन्धित समाचार